परम्परागत बाध्यबादन मादलको प्रयोग लोप हुदै

परम्परागत बाध्यबादन मादलको प्रयोग लोप हुदै

भोजराज कार्की, सोलुखुम्बु । बजारमा उपलब्ध विभिन्न आधुनिक प्रविधिले गर्दा पछिल्लो समय परम्परागत बाध्यबादन मादलको प्रयोग भने लोप हुदै गएको छ ।

 

केहि दशक अगाडी बिशेषत तिहार नजिकिदै गर्दा बजारमा मादल किन्ने बेच्ने अनी मर्मत गर्नेहरुको भिड लाग्ने भएपनि पछिल्लो समय बजारमा न त पर्याप्त मादलनै बिक्रि हुन्छ न त मर्मतनै गरेको पाईन्छ ।
गाऊमा आयोजना हुने सामान्य होस् या अन्य कार्यक्रम जहाँ एक दशक पहिला मादलको आवाज र स्थानीय भाकाहरु गुञ्जिने गर्दथ्यो।

दुधकौसीका गाउँपालिका २ काँगेलका दलित बहादुर कार्की विगत एक दशकलाई सम्झदै भन्छन्, “कार्यक्रम स्थलमा दोहोरी गाऊन या अन्य प्रस्तुतीका लागि विभिन्न आकारका मादलहरु देखिन्थ्यो तर आज भोलि क्यासेट, उफर, माईक लगाएतको उपकरण देखिन्छ।”

जब हिन्दु नेपालीहरुको महान चाड दिपावाली नजिकिन्थ्यो तब साप्ताहिक हाट देखि अन्य बजारमा समेत मादल किन्ने, बेच्ने अनी मर्मत गराउनेको भिड नै लाग्थ्योे । त्यो समयमा मादल मर्मत गर्नको लागि लाईनमा बस्नुपथ्र्यो भने बनाउनेलाई भ्याईनभ्याई हुन्थ्यो, नेचा सल्यान गाउँपालिका ६ तिङ्ला सोलुखुम्बुका देवी सार्कीसंग विभिन्न हाटमा आफैले निर्माण गरेको मादल बिक्रिमा लगेको र भ्याई नभ्याई मर्मत गरेको ताजा अनुभव छ । तर अहिले उनको यो अनुभव केवल कथामा परिणत हुन थालेको छ ।

सार्कीले भने “पछिल्लो पुस्ताले संस्कृतीको महत्व भुल्नुले मादलको प्रयोग सुन्य जस्तै बनेको छ ।” मादल प्रयोगमा कमी मात्र भएको छैन पछिल्लो समय मादल निर्माण कर्ता पनि न्यून छन् । सार्की जातिहरुको पुख्र्यौली पेशाको रुपमा लिईने मादल निर्माण तथा मर्मतलाई पछिल्लो पुस्ताले अगाल्न सकेका छैनन् ।

 

मादल निर्माण कर्ता देवी सार्की भन्छन् “मादल निर्माणको लागि आवश्यक कच्चा पदार्थ नै पाईन्दैन, यसको संरक्षणका लागि सरोकारवाला निकायले समयमा नै सोच्ने बेला आएको छ।” कच्चा पदार्थ नपाउने, मादल पयोग कर्ताको मोह कम हुनु, मात्र नभई संस्कार संस्कृती संरक्षणमा ध्यान नदिँदा पनि बाध्य बादनको महत्व कम हुदै गएको हो।

केहि दशक पहिला ठुली एकादशीका दिनसम्म मादल बजाउँदै मारुनी नाच निकालिन्थ्यो, तर अहिले न त मादलको प्रयोग हुन्छ न त मारुनी नाँच नै देखिन्छ, दुधकौसीका गाउँपालिका १ नेलेका मानबहादुर खड्का भन्छन्, “संस्कार संस्कृती जगेर्नाको खाँचो छ।”

नेपालीहरुको मुख्य पहिचान संस्कार संस्कृतीलाई यसरी नै भुल्दै जाने हो भने भविष्यमा हाम्रो अस्तित्व मेटिदैन भन्न सकिन्न त्यसैले यस्ता इतिहास बोकेको परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिनु पर्ने अघिल्लो पुस्ताको सुझाव छ ।