उम्मेदवार छनौटमा दलहरु व्यस्त

उम्मेदवार छनौटमा दलहरु व्यस्त

काठमाडौ । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको मिति नजिकिएपछि दलहरु उम्मेदवार छनौटमा व्यस्त भएका छन्।

 

उम्मेदवार टुंगो लगाउन हिजोदेखि जारी नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि जारी छ । गोकर्ण रिसोर्टमा बसिरहेको बैठकले भोलिसम्ममा उम्मेदवारको टुंगो लगाउने एमालेले जनाएको छ ।

भाइटीकाको भोलिपल्टै कात्तिक ५ गते उम्मेदवारी मनोनयनको मिति तोकिएकाले दलहरुलाई तिहारमा पनि चटारो परेको हो ।

बैठकले समानुपातिकतर्फ आयोगमा बुझाइएको बन्द सूची सच्याउने बारे पनि निर्णय गर्नेछ । नेपाली काँग्रेसले पनि भोलिसम्म उम्मेदवारको टुंगो लगाइ सक्ने जनाएको छ ।

 

त्यसका लागि अहिले केहीबेरमा संसदीय बोर्डको बैठक बालुवाटारमा बस्दैछ । आकांक्षी धेरै भएपछि संखुवासभा, रसुवा, नुवाकोट लगायतका केही जिल्लामा उम्मेदवार चयन गर्न समस्या भएको काँग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

पहिलो चरणमा चुनाव हुने ३२ मध्ये ७ वटा जिल्लामा काँग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ । बाँकी जिल्लामा गठबन्धनमा रहेका दलसँग पनि छलफल गरेर भोलिसम्ममा उम्मेदवार टुंगो लगाइने नेता विश्वकर्माले बताए ।

नेकपा माओवादी केन्द्रले पनि भोलिसम्म उम्मेदवारको टुंगो लगाउने जनाएको छ । गठबन्धनमा आवद्ध एमालेसँगको संयुक्त उम्मेदवार छनौट कार्यदलको बैठक बसेर उम्मेदवार टुंगो लगाइने पार्टी सचिवालय सदस्य मणी थापाले जानकारी दिए ।

थापाका अनुसार केही जिल्लामा आकांक्षी मिलाउन समस्या भएपनि भोलिसम्म उम्मेदवारको सबै टुंगो लागि सक्नेछ ।

पहिलो चरण अन्तर्गत मंसिर १० गते ३२ जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुनेछ ।