तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाउँदै

तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाउँदै

काठमाडौ । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार । आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाउँदैछ ।

 

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडि दिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

कुकुरले धर्मराज युधिष्ठिरलाई समेत स्वर्ग यात्रामा साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

यसैबीच नरक चर्तुदशी समेत परेकाले बिहान नरक फाल्ने प्रचलन रहेको छ । आज बिहानै नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास समेत रहिआएको छ ।

यमपञ्चकका दिन अर्थात् तिहारका पाँचै दिन बेलुकी घर–घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ ।