बाम गठबन्धन पश्चात मतपरिणामको जोड घटाउ यस्तो छ उदयपुरमा

बाम गठबन्धन पश्चात मतपरिणामको जोड घटाउ यस्तो छ उदयपुरमा

युवराज कार्की (सन्तोष) उदयपुर । उदयपुरमा गएको असारमा सम्पन्न स्थानीय तहको मत परिणामको आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नयाँ शक्ति मिलेर बनेको बाम गठबन्धन बलियो छ । ४ प्रदेश र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम भएकोे उदयपुरमा सवै निर्वाचन क्षेत्रमा बलियो देखिएको हो ।


आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्थानीय तहको मतलाई आधार मान्दा नेपाली काङग्रेस भन्दा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन कडा छ।

स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमसँग तालमेल गरी चुनाव लडेको नयाँ शक्तिको मत सवै तहमा यकिन गर्न सकिने अवस्था छैन। नयाँ शक्ति र संघीय समाजवादी फोरमले एउटै मशाल चिन्हमा भोट मागेकाले कस्तो कति मत छ भन्ने आँकलन गर्न नसकिएको हो।

स्थानीयतह निर्वाचनमा नगरपालिका प्रमुख र गाँउपालिकाका अध्यक्षको मतको आधार मानेर एमाले र माओवादीको मात्र मत जोड्दा बाम गठबन्धनको दोब्बर देखिन्छ । ८ वटा स्थानीयतह रहेको उदयपुरमा ६ वटा एमालेले जितेको छ भने माओवादी र काङग्रेसले एक÷एक वटा मात्र हात पारेका छन् । एमालेको जित हुन नसकेको सुनकोसी गाँउपालिका र चौदण्डीगढी नगरपालिकामा पनि एमाले झिनो मतले दोस्रो स्थानमा छ । ७ वटा स्थानीयतहमा माओवादी केन्द्र तेस्रो स्थानमा छ भने काङग्रेस दोस्रो मै सिमित छ ।

पहिलो हुने एमाले र तेस्रो हुने माओवादीको केन्द्रको मत जोड्दा मंसिर २१ गते हुने निर्वाचन जित्ने पक्कापक्की जस्तै छ । काङग्रेस र अन्य दल मिल्दा पनि वाम गठबन्धनको मतलाई जित्ने खासै आधार नदेखिएको चर्चा समेत सुरु भएको छ ।

 

प्रदेश सभानिर्वाचनमा वेलाका र चौदण्डी नगरपालिका मिलेर एक नम्वर प्रदेशसभा निर्वाचन क्षेत्र कायम भएको छ । जहाँ वेलाका नगरपालिका एमालेले जितेको छ भने चौदण्डीगढी नगरपालिकामा नेपाली काङग्रेसले जितेको छ । वेलका नगरपालिकामा एमाले नगर प्रमुखमा ५ हजार ८ सय १८, माओवादी केन्द्रले ४ हजार १ सय ३२ र काङग्रेस ५ हजार २ सय ६६ मत प्राप्त गरेको छ । यसैगरी चौदण्डीगढी नगरपालिकामा एमाले ६ हजार ३ सय ३०, माके ४ हजार ४ सय २५ र काङग्रेस ६ हजार ८ सय ६० पाएका छन् ।जुनदुवै नगरपालिका मिलेर बनेको प्रदेशसभा एमाले र माओवादी केन्द्रले जम्मा २० हजार ७ सय ५ मत पाएका छन् भने काङग्रेशले १२ हजार १ सय ३६ मत प्राप्त गरेको तथ्याङक निर्वाचन कार्यालयको छ।

यस प्रदेशमा ८ हजार ५ सय ६९ मतले वाम गठबन्धन अघि छ । यहाँ अन्य साना संघीय समाजवादी फोरम, राप्रपा लगायतसँग जोड्दा पनि काङग्रेसले एमाले माओवादीको मतको संख्यामा पु¥याउँदैन । यसैगरी त्रियुगा नगरपालिकामा मात्र प्रदेश सभा निर्वाचन क्षेत्र दुई कायम भएको छ। जहाँ नगर प्रमुख एमालेले जितेको छ भने उपप्रमुख काङग्रेसले जितेको छ । यहाँ एमालेले ११ हजार तीन सय ६८, माओवादी केन्द्रले ७ हजार ५ सय ४९, नेपाली काङग्रेसले ११ हजार दुई सय ९५ मत प्राप्त गरेका छन्।

 

यहाँ एमाले र माओवादी केन्द्रका नगर प्रमुखले पाएको मत जोड्दा १८ हजार ५ सय ४९ हुन्छ भने काङग्रेस एक्लैको ११ हजार २ सय ९५ मात्र छ। यहाँ अन्य दलसँग काङग्रेसले सहकार्य गर्ने देखिन्छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङकको आधारमा झण्डै ७ हजार मतले वाम गठबन्धन अघि देखिएको छ।

यसैगरी रौतामाई, सुनकोसी र उदयपुरगढी गाँउपालिका मिलेर प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर ३ कायम भएको छ । जहाँ सुनकोसीमा माओवादी, रौतामाई र उदयपुरगढी गाँउपालिकामा एमालेले जितेको छ । यहाँ पनि नयाँशक्ति र संघीय समाजवादी फोरम पार्टीका उम्मेदवारहरुको जमानत नै जफत भएको थियो।

सुनकोसी गापामा एमालेले १ हजार २ सय ८१, माकेको १ हजार ३ सय ४७, नेपाली काङग्रेसको १ हजार २ सय ७३ छ । यता उदयपुरगढी गापामा एमाले ४ हजार ४ सय २५, माओवादी १ हजार ८ सय ६७, काङग्रेस  २ हजार ९ सय ८१ र रौतामाई गाँउपालिकामा एमाले २ हजार ७ सय ४२, माके २ हजार ६ सय २४ र काङग्रेस १ हजार ७ सय ५६ मत छ । यहाँ पनि एमाले माओवादीको मात्र मत जोड्दा १४ हजार २ सय ६८ छ भने काङग्रेसको मात्र यस प्रदेश सभाको निर्वाचनको लागि ६ हजार १० मत छ । काङग्रेसको भन्दा एमाले माओवादी दोव्वरले बढी छ ।
कटारी नगरपालिका र ताप्ली गाँउपालिका मिलेर अर्को प्रदेशसभा ४ निर्वाचन क्षेत्र छ । जहाँ कटारी नगरपालिकामा एमाले ६ हजार ९ सय ९, माओवादी केन्द्र ५ हजार ५ सय ६४ र काङग्रेस ६ हजार ७ सय ३५ छ ।

यता ताप्ली गाँउपालिकामा जिल्ला निर्वाचन कार्यालयको तथ्याङकको आधारमा एमाले १ हजार २ सय ९१, माओवादी केन्द्र १ हजार १ सय ५७ र काङग्रेस १ हजार एकसय ८० छ। यहाँ कनपा र ताप्लीगापामा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा १४ हजार ९ सय २१ हुन्छ भने काङग्रेस मात्रको ७ हजार ९ सय १५ हुन्छ। यहाँ पनि दोब्बर मतले एमाले माओवादी नै बलियो छन् ।प्रतिनिधि सभानिर्वाचन क्षेत्रप्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थानीय तहमा नगरप्रमुख र गाँउपालिका अध्यक्षले पाएको मत परिमाणको आधारमा हेर्दा माओवादी केन्द्र एमाले नै अघि छन्। एमाले माओवादी केन्द्रलाई जित्नको लागि काङग्रेशले अन्य दललाई हात लिनु पर्ने देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा एमाले माओवादी केन्द्रको जम्मा मत ३९ हजार २ सय ५४ छ भनेकाङग्रेसको २३ हजार ४ सय ३१ छ । यहाँ काङग्रेससँग अन्य दलको मत जोड्दा पनि कमै हुने देखिन्छ । यस प्रतिनिधि सभानिर्वाचन क्षेत्रमा वेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका पर्दछन । साविकको तीन निर्वाचन क्षेत्र हुँदा चौदण्डीगढी र वेलका नगरपालिका एक नम्वर निर्वाचन क्षेत्रमा पर्दथ्यो । यहाँ पहिलो संविधान सभाको निर्वानमा नेपाली काङग्रेसका पूर्व मन्त्री सहरी विकास मन्त्री डाक्टर नारायण खड्का विजयी हुँदै आएका थिए ।
यता त्रियुगा नगरपालिका नेकपा एमालेको गढको रुपमा मानिन्छ । यहाँ ०६४ सालमा माओवादीले जित हात पारेको थियो भने त्यसभन्दा अघि र पछिका निर्वाचनमा सदैव एमालेको अघि हुने गरेको थियो ।

अर्को प्रतिनिधि सभा निर्वाचन क्षेत्र दुईमा पनि एमाले र माओवादीकै मत परिमाण संख्या उच्च छ । यहाँ जम्मा काङग्रेसको मात्र जम्मा १३ हजार ९ सय २५ छ भने एमाले माओवादीको २९ हजार १ सय ८९ छ । यहाँ साविकको विगतमा भएका निर्वाचनमा आँकलन गर्दा काङग्रेस र एमाले र माओवादीले पनि जित्ने गरेका थिए।

स्थानीय तहको निर्वाचनमा जम्मा एक लाख ७१ हजार ४ सय ६१ मतदाता थिए । त्यसको कूल खसेको मत एक लाख २१ हजार ९ सय ९७ छ। जहाँ नगर प्रमुख र गाँउपालिकाका अध्यक्षले मात्र पाएको मत ६८ हजार ४ सय ५२ मत एमाले माओवादीसँग छ । यता काङग्रेससँग भने ३७ हजार ३ सय ५६ मत छ।

तीन पार्टी काङग्रेस, एमाले र माओवादी केन्द्रले पाएको जम्मा मत एक लाख ५ हजार ८ सय ८ मत छ । जसमा कूल खसेको मत एक लाख २१ हजार ९ सय ९७ बाट तीन पार्टी काङग्रेस, एमाले र माओवादी केन्द्रले पाएको एक लाख ५ हजार ८ सय ८ मत बताउँदा १६ हजार मत मात्र संघीय समाजवादी फोरम, राप्रपा, नयाँशक्ति लगायत स्वतन्त्र उम्मेदवारहरुले पाएका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काका अनुसार उदयपुरमा कति मत बदर भयो भन्ने यकिन तथ्याङक छैन ।

‘स्थानीय तहको निर्वाचनमा कुन पार्टीले कति मत पाए भन्ने अंक पत्ता लगाउन कि अध्यक्ष वा नगरप्रमुखको मत जोड्नु पर्छ,’ उनले भने, ‘अनुमानित जम्मा कूल खसेको मतमा १ हजारदेखि ५ मत मात्र बदर भएको अनुमान हाम्रो छ।’