विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाईंदै

विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाईंदै

काठमाडौ । आज विश्व खाद्य दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज बिभिन्न कार्यक्रम हुँदैछन् ।

दिवसको अवसरमा कृषि विकास मन्त्रालय अन्तरगत कृषि विकास शाखाले कार्यक्रम गर्दैछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो।

संगठनको स्थापना सन् १९४५ अक्टोबर १६ मा भएको हो । सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो।

कृषि प्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण तिब्र भोकमरीको समस्या नभएपनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरुमा भने बर्षमा ६ महिना चर्को खाद्य संकट भने हुने गरेको छ ।


नेपाल खाद्य सुरक्षामा नेपाल दक्षिण एसियामै सबल देखिएको छ । विश्व भोकमरी सूचकाङ्क जिएचआइ २०१७ प्रतिवेदन अनुसार विश्वका १ सय १९ देश मध्ये नेपाल ७२ औं स्थानमा छ।

दक्षिण एसियाली मुलुकमा भोकमरीको समस्या कम देखिएपनि नेपालको भोकमरीको अवस्था आफैंमा खस्कँदो क्रममा रहेको प्रतिवेदनले देखाएको छ ।

भूकम्प, नाकाबन्दी, खडेरीलगायतका समस्याका कारण खाद्य सुरक्षाको अवस्था विस्तारै खस्किदो क्रममा छ ।