हण्डरै हण्डर खाएका कृष्ण बास्तोलालाई रेडियोले बनाए च्याउ उद्यमी

हण्डरै हण्डर खाएका कृष्ण बास्तोलालाई रेडियोले बनाए च्याउ उद्यमी

युवराज कार्की (सन्तोष) कार्की/ उदयपुर । बेलका नगरपालिका–१, उदयपुरको आम्वासीका कृष्ण बास्तोला ९ बर्ष पहिले वैदेशिक रोजगारीको सिलशिलामा मलेसिया पुगेका थिए। कृष्णलाई मलेसिया जानेबेला एजेन्टले सुपरभाइजर भनेर पठाएका थिए, तर उनी सुपरभाइजर बन्न पाएन । सुपरभाइजर पाउनु त कता हो कता, उनले सिमेन्टका बोरा र इटा बोक्नु पर्यो।

त्यसपछि कृष्णलाई मलेसियामा बस्न मन लागेन । गएको हप्ता दिनमै नेपाल फर्किएर आए । त्यसो त मलेसिया कृष्णका पहिलो वैदेशिक रोजगार यात्रा थिएन। त्यसअघि उनले भारतको मेघालयमा १० वर्ष बसेका थिए । भारतमा काम गाह्रो तर कमाई थोरै भएपछि मलेसिया हानिएका कृष्णले त्यहाँ पनि हण्डर खान पुगे।

२०५६ सालमा १२ वर्षको छँदा देखिनै भारत गएका कृष्ण पासपोर्ट बनाउने उमेर पुगेपछि पासपोर्ट बनाएर मलेसिया हानिएका थिए । विदेशको चक्करले थाकेका कृष्णले मलेसियाबाट फर्किएपछि आफैले गाउँमै व्यवसाय गर्ने सोच बनाएपनि के गर्ने भन्ने योजना बनाउन निक्कै गाह्रो भयो।

अर्कातिर आफूसँग व्यवसायमा लगानी गर्ने रकमको पनि अभाव थियो । विदेश जाँदा लिएको ऋण पनि तिर्न सकेका थिएनन् । ऋणपान गरेर बस्ती बाक्लिंदै गएको फत्तेपुर बजारमा उनले कुखुरा फारम सञ्चालन गरे । तर दुई देशमा हण्डर खाइसकेका कृष्णलाई कुखुराको व्यवसायले पनि उँभो लाएन। पहिलेको पनि ऋण तिर्ने सोचले व्यवसाय थालेपनि ऋण माथि ऋण झनै ा थपियो । कुखुरा व्यवसाय घाटामा गयो।

जुन सोचले कृष्णले गाउँमै रोजगारी थालेका थिए तर त्यो उद्देश्य पुरा भएन । फेरि विदेश नजाने बाचा गरेका कृष्णले ऋण बढेपछि बाचा तोड्दै मलेसियाका लागि पुनः पासपोर्ट म्यानपावर कम्पनीमा दिए । तर लामो समयसम्म मलेसियाको भिसा आएन । उनले भने– ‘म्यानपावर कम्पनी धाउँदा धाउँदा हैरान भैसक्यो र म्यानपावरले फर्खिनु भनेको १५ कहिल्यै आएन ।’

त्यसपछि फेरि भौतारिएर रोजगारी खोज्दै मेघालय पुगे । तर यसपटक कृष्णको मेघालय यात्रा ‘तावाको माछो भुंग्रोमा’ भने जस्तो भयो । रोजगारी खोज्दै गएका कृष्ण काम गर्ने ठाउँमा दुर्घटनामा परे । दुर्घटनामा परेका कृष्णलाई त्यहाँ कार्यरत नेपालीले सहयोग गरेर नेपाल फर्काए । कमाउन गएका कृष्ण आफैं थला परेर फर्किएर आए ।

एक दिन रेडियो सुनिरहेका बेला स्थानीय रेडियोबाट लघु उद्यमी कसरी बन्ने ? कस्ता कस्ता व्यवसाय गरेर उद्यमी बनिन्छ ? उदयपुरमा कस्तो व्यवसायका लागि हावा पानी ठिक छ ? भन्ने विषयमा जानकारी मूलक कार्यक्रम सुनेपछि च्याउ खेती गर्ने सोच बनाएको कृष्णले बताए। उनले हिमाली च्याउ उद्योग दर्ता गरि च्याउ खेती सुरु गरेका छन् ।

अहिले त यो व्यवसायमा कृष्णले मात्रै होइन उनको परिवार नै संलग्न भएको छ । श्रीमती बालकुमारी पनि यहि व्यवसायमा काम गरिरहेका छिन्। कृष्णको श्रीमतिले पनि च्याउको स्याहार सम्भार गर्नेदेखि बजारसम्म पुर्याउने काम गर्छिन् ।

व्यवसायमा लगानी पनि सामान्य नै छ। कृष्णले स्थानीय स्तरमै पाइने बाँस र थाकलले १० वटा टर्नेल बनाएका छन् । च्याउ खेतीमा लागेका कृष्णको परिवार मात्रै होइन यहि फर्ममा १७ जनाले समेत रोजगारी पाएका छन् ।

कृष्णको फर्ममा दैनिक एक सय किलो च्याउ उत्पादन हुन्छ । प्रतिकिलो एक सय ७५ देखि दुई सय रुपैयाँ सम्ममा बिक्रि हुन्छ। महिनाको झण्डै तीन लाख रुपैयाँको बिक्रि हुन्छ। अहिले कृष्णको कमाई वार्षिक १२ देखि १४ लाख रुपैयाँ पुग्छ ।

लघु उद्यम विकास कार्यक्रमबाट सिप सिकेर व्यवसाय थालेका कृष्णलाई प्राविधिक सहयोग पनि यहि कार्यक्रमले उपलव्ध गराएको छ । पटक पटक विदेशमा हण्डर खाएका कृष्णलाई अहिले गाउँमै थालेको च्याउ खेतीले उज्वल भविष्य तर्फ डोर्याएको छ।

अहिले व्यवसाय फस्टाउन थालेपछि भने कृष्णको बुझाई बदलिएको छ । उनी भन्छन्, ‘काम चिन्न सके गाउँमै रोजगारी छ ।’