दुर्गम क्षेत्रका सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको बढ्दो आर्कषण

दुर्गम क्षेत्रका सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको बढ्दो आर्कषण

बैतडी सम्वाददाता । विद्यालयमा शैक्षिक सामाग्रीको व्यवस्था भएपछि बैतडीका दुर्गम क्षेत्रका विद्यालयहरुमा बिद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ।

जिल्लाका दुर्गम क्षेत्रका एक सय ९७ वटा आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए।

जिल्लामा आधारभूत तहमा अहिले पनि तीन प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ।

विद्यालय बाहिर रहेका विद्यार्थीलाई पनि विद्यालयमा भित्र्याउँनका लागि शैक्षिक सामाग्रीले सहयोग पुर्याउने जिल्ला शिक्षा अधिकारी टेरले बताए। विद्यार्थीले सुनेर भन्दा देखेर बढी सिक्ने गरेको स्रोतव्यक्ति अमर ठगुन्नाले बताए।

जिल्लाका विभिन्न ठाउँका आधारभूत विद्यालयमा शैक्षिक सामाग्री आएपछि शिक्षकहरूलाई भाषा विषय र गणित विषय पढाउन सजिलो भएको छ।

पहिलेको तुलनामा शैक्षिक उपलब्धिमा पनि धेरै प्रगति भएको पाइएको छ । जिल्लाका आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नुभन्दा पहिला कक्षा १ मा नेपाली विषयको औसत सिकाई उपलब्धि ५७ प्रतिशत रहेकोमा यो वर्ष ६५ प्रतिशत पुगेको छ।

यस्तै गणित विषयमा ५१ प्रतिशत रहेकोमा यस वर्ष ६१ प्रतिशत पुगेको विद्यालय निरिक्षक शंकरदत्त भट्टले बताए ।

आधारभूत तहमा शैक्षिक सामाग्री वितरण गरेपछि सिकाई उपलब्धिमा आएको बढोत्तरी र विद्यार्थीको रुचि बढेकाले जिल्लाका अन्य विद्यालयमा शैक्षिक सामाग्री वितरणका लागि पहल गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताएका छन् ।