जाल्पाले बनाएको उदयपुरका अधिकांस विद्यालय भवन अधुरै

जाल्पाले बनाएको उदयपुरका अधिकांस विद्यालय भवन अधुरै

युवराज कार्की (सन्तोष) उदयपुर । अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्डभिजन ईन्टरनेसनल उदयपुरको पहाडी क्षेत्रमा निर्माण गरेका विद्यालय भवनहरु अधुरै रहेको छ ।

वर्डभिजनले जाल्पा एकीकृत विकास समाज मार्फत निर्माण गरेका विद्यालय भवनहरु सम्पन्न हुन नसकेको हो।

स्थानीय साझेदार संस्था जाल्पाले काम गर्न नसक्दा परियोजनाको म्याद सकिएपनि वर्डभिजनलाई विद्यालय भवन टाउको दुखाईको विषय बनेको छ ।

जाल्पाले सिकाईका लागि सुरक्षित वातावरण (सेल) परियोजना मार्फत निर्माण ९ वटा विद्यालय भवन मध्ये ७ वटा भवन अधुरो नै रहेको छ।

जाल्पाकै कारण वर्ड भिजनको परियोजना सक्ने म्याद ८ सेक्टेम्बर भएपनि भवनको काम नसकिँदा वर्डभिजन समस्यामा परेको छ । २०७३ साल कार्तिक १२ गते सम्झौता गरिएको विद्यालय भवन निर्माण सम्झौता ३ पटक म्याद थप गर्दा समेत बन्न सकेको छैन ।

६ महिना २०७४ बैशाख १७ गते भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएकोमा पटक पटक म्याद थप गर्दा पनि सपन्न हुन नसकेको वर्डभिजनका सेल परियोजना हेर्ने मदन रानाले बताए । ‘सरासर काम गर्दा दुई महिनामा काम सकिनु पर्ने हो ।’ रानाले भने ‘हामीले निर्माण व्यवसायीलाई सजिलो होस् भनेर ६ महिनाको समय दियौ तर पनि काम गरेनन् ।’ 

स्थानीय साझेदार संस्था जाल्पाको पकेटको निर्माण व्यवसायीलाई मिलेमतोमा ठेक्का दिँदा काम समयमै हुन नसकेको वर्डभिजन स्रोतले जनाएको छ ।

जाल्पाले नेपाली काग्रेसका नेता तथा त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्वार बसन्त बस्नेतको कम्पनी इन्द्रेणी निर्माण सेवा र नेपाली काग्रेसकै कटारीका युवा कार्यकर्ता ज्ञानेन्द्र खड्काको एनबी कन्ट्रक्सनलाई काम गर्ने जिम्मा दिएको थियो।

रोचक कुरा कर्तिक १२ गते सम्झौता गरेको २ कोठे ट्रस सहितको पक्की भवनको ठेक्का रकम समेत एउटै छ। बाहिरबाट हेर्दा निर्माण कम्पनीले काम नगरेको देखिन्छ तर भित्री कारण आफूलाई थाहा नभएको वर्डभिजनका रानाको भनाई छ।

अधुरो रहेको सातवटा भवन मध्ये ६ वटाको ९० प्रतिसत भन्दा बढि काम भईसकेको छ भने लेखगाउ–९ तामाखर्क प्रा.विको भवन निर्माण सम्झौता रद्द गरिएको छ ।

काठमाण्डौका एनबी कन्ट्रक्सनले भवन निर्माण गर्ने जिम्मा पाएको तामाखर्क स्कूलको भवन जाल्पाको दवावमा व्यवस्थापन समितिले वनाउने भएको छ ।

एनबी कन्ट्रक्सनका प्रमुख निरज बुढाथोकीले जाल्पाले सबै दोष निर्माण व्यवसायीलाई लगायर उन्मुक्ती पाउन खोजेको बताए । ‘म एनबी कन्ट्रक्सनको प्रोपाईटर त हुँ, तर कटारीका ज्ञानेन्द्र खड्का मेरो साथी हुनुहुन्छ उहाँले फर्म माग्नु भयो मैले फर्म दिए ।’ प्रमुख बुढाथोकीले भने ‘दुई कोठे भवन साढे २२ लाखमा ठेक्का लिएको त्यही भवन पनि बनाउन नसक्नुमा जाल्पा र कटारीका ज्ञानेन्द्र खड्का जिम्मेवार रहेका छन।’

हामीले जिम्मा लिएपछि जसरी पनि काम सक्नु पर्ने हुन्छ तर विचमा तामाखर्क स्कूल जाल्पाको इन्टेसमा व्यवस्थापन समितिलाई बनाउने जिम्मा दिएको छ भन्ने आफूले सुनेको बुढाथोकीको कथन छ।

जाल्पा एकीकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेल पनि नेपाली काग्रेसका नेता भएको र ठेकेदार कम्पनी पनि नेपाली काग्रेस निकट भएकाले इन्द्रेणी र एनबीको नाममा पुष्पराज पोखरेल आफैले टेण्डर हालेको जाल्पा स्रोतले बताएको छ ।

जाल्पाका स्रोतका अनुसार अध्यक्ष पोखरेल नेपाली काग्रेसबाट त्रियुगा नगरपालिका वडा नं. १६ जाल्पा चिलाउनेको वडा अध्यक्षमा उठ्दा चुनावको प्रचार प्रसारमा भवन निर्माणमा लिएको रकम चुनाव खर्च भएकाले हिसाव नमिलेर भवन अधुरो रहेको हो ।

जनता मावि रौता ५ रानीबास, उच्च मावि भुट्टार–५, उ.मा.वि.जाँते-१, उ.मा.वि. लाफागाउँ -४ लाफागाउँ, मा.वि. रुपाटार-२ कटहरे, प्राथमिक विद्यालय पोखरी -७ नचने, प्राथमिक विद्यालय तावाश्री-७ गेर्खे, प्राथमिक विद्यालय लेखगाउँ-९ तामाखर्क, नि.मा.वि. धारापानी लेखगाउँ -६ मा भवन निर्माण भईरहेको छ।

जसमध्ये जाते र लाफागाउँको मात्र विद्यालय भवन निर्माण सम्पन्न भईसकेको जाल्पा एकीकृत विकास समाजका सूचना अधिकारी रुद्र पोखरेलले जााकारी दिए ।

भवन निर्माण सम्पन्न नभएको बारे जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलसँग प्रतिक्रिया लिँदा भवन सम्पन्न गर्ने म्याद सकिएको पनि म्याद थप गरिएको जानकारी दिए । ‘बैशाखमा म्याद सकिएको भएपनि हामीले म्याद थप गरेका छौ ।’ तर कति महिनाको लागि म्याद थप गरिएको भन्ने बारे केही खुलाएनन ।