चुनावी प्रचार प्रसार तीव्र, ठाउँ ठाउँमा चुनाबी सभा हुँदै

Wednesday, September 13th, 2017 at 9:08 am By:News Missile Highlighted News, Politics 89 Views

काठमाडौ । स्थानीय तह तेस्रो चरणको चुनाव आउन ५ दिन मात्रै बाँकी रहँदा प्रमुख दलहरुले प्रचार प्रसार तिब्र पारेका छन्।

आफ्ना उम्मेद्वार जिताउन प्रचार प्रसारमा जुटेका सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले आज पनि विभिन्न ठाउँका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धनुषाको जनकपुरमा हुने चुनावी सभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

जनकपुरपछि आजै महोत्तरीको वर्दिवासमा हुने चुनावी सभालाई पनि देउवाले सम्बोधन गर्नेछ । कांग्रेसले हिजोदेखि सुरु गरेको चुनावी सभा पर्सिसम्म चल्ने जनाएको छ । चुनावी सभालाई सम्वोधन गर्न कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरु प्रदेश नम्वर २ मा रहेका छन् ।

यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रले आज सप्तरी र सिराहामा चुनावी सभाको आयोजना गरेको छ। सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेेछ ।

दुवै जिल्लामा झण्डै आधा दर्जन आमसभाको कार्यक्रम रहेको माओवादी केन्द्रका २ नम्बर प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए।

आज बेलुकी जनकपुर पुगेर बस्ने प्रचण्डले भोलि धनुषा र महोत्तरीका चुनावी सभालाई सम्बोधन गर्ने यादवले बताए।

त्यस्तैगरी नेकपा एमालेले भने घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । अध्यक्ष केपी शर्मा ओली तराई झर्ने कार्यक्रम तय भइनसकेकाले एमालेले ठूला चुनावी सभा राखेको छैन ।

ओली पर्सि मात्रै तराई जाने तयारी भइरहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


Related Post

उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि
अमेरिका भ्रमणको क्रममा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्री देउवाको भेटवार्ता
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिब्र, २२ गतेभित्रमा नाम, थर, पद र दस्तखतको नमूना पेश गर्नु पर्ने
मतगणना जारी, भोली बेलुकीसम्ममा धेरैजसो ठाउँको अन्तिम परिणाम सार्वजनिक हुने
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै