६ महिने चर्या नृत्य प्रशिक्षणकार्य सम्पन्न

Sunday, September 3rd, 2017 at 1:19 pm By:Ajay Deshar Art & Culture, Highlighted News 336 Views

ललितपुर । पाटनको सहरको ऐतिहासिक मूल मर्म बोकेको चर्या नृत्यको प्रशिक्षणकार्य यशोधरा महाविहार बुबहाल पाटनमा भर्खरै सम्पन्न भएको छ ।

महिला तथा बालबालिका कल्याण सेवा समाज पाटनको आयोजना साथै ललितपुर नगरपालिका अन्तर्गत गरिबी उन्मूख शहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा पाटन बुबहालको दिगी घरमा गत चैत्र महिना देखि ६ महिनासम्म सञ्चालन हँुदै आएको चर्या नृत्य प्रशिक्षणको समापन भएको हो।

समापन समारोहको कार्यक्रममा प्रशिक्षार्थीहरुले तारा, कुमारी, बज्रयोगिनी लगायत अन्य विभिन्न चर्या नृत्यहरु प्रदर्शन गरेका थिए। नृत्य प्रशिक्षण लिन सयभन्दा बढी प्रशिक्षार्थीहरुले आवेदन दिएकोमा ७० जनाले मात्र ६ महिनासम्म प्रशिक्षण पूरा गरेका हुन् ।

सोही अवसरमा नृत्य माइला गुरुजु, हेमरत्न बज्राचार्य र मिना जोशीले प्रशिक्षण दिनु भएको हो । त्यसैगरी समापन कार्यक्रममा बज्रयानी चर्या गीत तथा नृत्य नामको पुस्तकसंगै चर्या नृत्य सम्बन्धि बृत्तचित्र र चर्या गानाको सि.डि. समेत बिमोचन गरिएको थियो ।

सोही कार्यक्रमको अवसरमा गुरुहरु, प्रशिक्षार्थी र सहयोगीहरुलाई ज्ञापनपत्र तथा प्रमाण पत्र वितरण गरिएको थियो। सँस्कृतिको संरक्षण गर्ने तथा चर्या नृत्यको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने र युवाहरुको नृत्य दक्षता विकास गर्ने उद्देश्यका साथ उक्त प्रशिक्षण दिइएको संयोजक प्रेरणा बज्राचार्यंले बताइन्।

चर्या गीत तथा नृत्यहरु बौद्ध तन्त्र शास्त्रमा आधारित तथा बुद्ध धर्मको बज्रयान निकाय अन्तर्गत पर्दछ र जनमानसमा बोधिज्ञान प्रवाह गर्ने विशुद्ध एवं सशक्त माध्यमको रुपमा पहिले पहिले बोधिसत्वहरुले चर्या गीत र चर्या नृत्य प्रयोगमा ल्याउने गरेको भनाई छ ।

यसका चर्या गीत तथा नृत्यहरुका प्रथम रचनाकार, संगीतकार तथा गायक महामञ्जुश्री हुन् भन्ने विश्वास रहेको छ।

 


Related Post

“रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै
‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने