१ अर्ब २५ करोड भन्दा बढीको राहत कार्यक्रम घोषणा

Sunday, August 27th, 2017 at 6:26 pm By:News Missile Agriculture, Highlighted News 237 Views

काठमाडौ । कृषि विकास मन्त्रालयले १ अर्ब २५ करोड ५ लाख ६० हजार रुपैयाँको राहत कार्यक्रम घोषणा गरेको छ।

आज सिंहदरबारमा मन्त्रालयले पत्रकार सम्मेलन गरी तराई क्षेत्रमा गएको बाढी पहिरोको राहतका लागि राहत कार्यक्रम ल्याएको हो।

मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र कुमार कार्कीले घोषणा गरिएका कार्यक्रम कृषि क्षेत्रमा बढी क्षति भएका तराईका ३० जिल्लामा सञ्चालन हुने जानकारी दिए ।

मन्त्रालयले मत्स्य क्षेत्रका लागि १८ करोड ८७ लाख रुपैयाँ प्रस्ताव गरेको छ । त्यस्तै सञ्चित खाद्यान्न तथा वीउ भण्डारण राहत कार्यक्रमका लागि १२ करोड ४९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

मन्त्रालयले फलफूल बेर्ना तथा निजी नर्सरी पुनस्र्थापना सहयोग, खाद्यन्न वीउ वितरण, तेलहन तथा दलहन वीउ वितरण, गरा सुधार, भत्केका बजार पूर्वाधार मर्मत तथा नयाँ निर्माणका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अघि सारेको छ।

१६ जिल्लामा सिंचाइ पूर्वाधार मर्मत सम्भार, ३० जिल्लामा भकारो सुधार, २३ जिल्लामा युरिया मल अनुदान, ३० जिल्लामा विषादी वितरण तथा प्लाण्ट क्लिनिक संचालनका लागि करोडौं रकम प्रस्ताव गरेको छ।

मन्त्रालयले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप, ललितपुर, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, बझाङ्ग, दार्चुला, बैतडि, कैलाली, डोटी, दाङ्ग, बाँके, बर्दिया, रुपन्देही, कास्की, बाग्लुङ्ग, गुल्मी, नवलपरासि, कपिलवस्तु र तनहुँ जिल्लाका लागि कार्यक्रम प्रस्ताव गरेको छ।

कार्यक्रममा कृषि विकास मन्त्री रामकृष्ण यादवले कार्यक्रम प्रभावकारी सञ्चालन हुने र बजेट समेत स्वच्छ र पारदर्शी रुपमा खर्च हुने प्रतिवद्धता जनाए।

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कृषि क्षेत्रमा बाढी पहिरोले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएकोे छ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि