महिला अधिकारसंगै बालअधिकार

Thursday, August 24th, 2017 at 10:49 am By:News Missile Blogs 457 Views

गमला लामा/विदूर । नुवाकोट जिल्ला सदरमुकाम बिदूर नगरपलिकामा महिलाको मुद्धासंगै बालबालिकाको मुद्धा पनि सम्बोधन हुने भएको छ । महिलाहरु सचेत भए मात्र बालबालिकाको अधिकार संरक्षित हुने भएकाले यस प्रकारको रणनीति अपनाईएको बिदूर नगरपालिकाकी उपप्रमूख (उपमेयर) गीता कुमारी दहालले बताइन्।

‘महिला अधिकार सुरक्षित भए मात्र बाल अधिकार सुरक्षित हुन्छ भन्ने मान्यतामा नगर पालिका सचेत छ।’ उप प्रमूख मेयर भन्दै थिईन-बालमैत्री स्थानीय शासन सफल हुन सबै भन्दा पहिला महिला अधिकार संरक्षित र सुरक्षित हुनु पर्छ । हरेक बालबालिकाका पहिलो शिक्षक आमा भएकाले आमा अधिकार सम्पन्न, सुरक्षित र सचेत बनाउने अभियानमा लागेका छौ।

बालमैत्री स्थानीय शासनको रणनीति र यसका सूचकहरुमा पनि महिलासंग जोडिएका धेरै अधिकार राखिएका छन्। गर्भको सुरक्षादेखि सुरक्षित ढंगले सुत्केरी गराउने कुरा बालमैत्री स्थानीय शासन अन्तर्गतमा पर्दछन्।

कुनै पनि स्थानीय तह बालमैत्री बन्नका लागि महिलासंग सम्बन्धीत धेरै वटा सूचक पूरा गर्नु पर्दछ। जिल्ला बाल कल्याकारिणी समिति, नुवाकोटका सूचना अधिकृत जीवन पुडासैनी भन्छन् बाल बचाउ सम्बन्धी महत्वपूर्ण सूचक स्तनपानमा नवजात बालबालिकाले छ महिनासम्म आमाले अनिवार्य रुपमा स्तनपान गराएको हुनु पर्ने व्यबस्था गरिएको छ । यो विशुद्ध आमा वा महिलासंग सम्बन्धीत सूचक हो। यदि जन्मदाता आमा पूर्ण स्वस्थ भएमा मात्र निरन्तर स्तनपान सम्भव छ।

नेपालको सन्दर्भमा स्तनपान गराउन अक्ष्म भएका महिला थुप्रै भेटिएका छन् । एकातिर यो नेपालको कानुनी हिसावले र अर्को तिर सामाजिक र आर्थिक, स्वास्थका कारणले पनि यो अधिकार बालबालिकाले पाउन सकेका छैनन् । बालबालिकाकाको अधिकारसंग प्रत्यक्ष आमाको वा महिलाको अधिकार जोडिएको हुन्छ।

कतिपय आमाहरुले आफना बालबच्चालाई स्तनपान मात्र होइन न्यानो काख दिन पनि बञ्चित गराएका छन्। यो बालअधिकार र महिला अधिकार दुबैको हनन् हो । बालअधिकारकर्मी समेत रहेका पुडासैनीको बिचारमा मूलतः सम्बन्ध बिच्छेद जस्ता कानुनी प्रावधानका कारण यस्तो भएको हो । सम्बन्ध बिच्छेदले महिला अधिकार सुरक्षित गर्छ भन्ने तर्कसंगै सन्तानलाई भय र असुरक्षा दिन्छ भन्ने पाटोमा त्यति विमर्ष भएको छैन।

बाबु र आमा दुबैको न्यानो मायासंगै पारिवारिक वातावरणमा हुर्कन, पढ्न र सामाजिकीकिरण हुन पाउनु पर्ने बालबालिकाको अधिकार हो । सम्बन्ध बिच्छेद भएपछि तिनले आमा वा बाबु मध्ये एकलाई रोज्नु पर्ने बाध्यता छ। गल्ती महिला वा पुरुष जो बाट भएपनि सजाय भोग्ने भागिदार निर्दोष बालबालिका हुन्छन्। यसबाट वालबालिकाको शारीरिकी, मानसिक र बौद्धिक विकासमा प्रतिकूल असर पार्दछ।

स्थानीय महिला अधिकारकर्मी भगवती लामाको भनाईमा बद्लिदो सामाजिक वातावरणले पनि वालअधिकार हनन् भई रहेका छन्। महिला अधिकार र स्वतन्त्रताको उपभोग गर्ने नाममा वालअधिकार हनन्का घटनाहरु धेरै छन्। नेपाली समाज संयुक्त परिवारबाट एकल परिवारमा रुपान्तरण भईरहेको छ। केही पढेकार केही स्वरोजगारमा भएका तथा बैदेशिक रोजगारको रेमिन्टेन्स प्राप्त गरिरहेका महिलाहरु पुरानो थातथलो, गाउँघरमा बस्न नरुचाउने र सहर वा नयाँ नयाँ ठाउँमा बस्ने प्रबृत्ति बढेको छ। यसले गर्दा संयुक्त परिवारको नेपालीपन धमलिएको छ । बालबालिकाले हजुरआमा, हजुरबुबाबाट अनुभव, कथा, नैतिकता, संस्कार रीति तथा परम्परा बुझ्न र रमाइलो गरेर बालापन बिताउने अवसर गुमाउँछन् ।

बिदुर नगरपालिकाका सामाजिक कार्यकर्ता बिमला थोकरको पनि यस्तै बिचार छ । उनी भन्छन् महिला र पुरुष दुबै जना जागिरे भए भने त बालबालिकाहरु चौपट्टै हुन्छन् । धेरै स्थानमा दुई बर्षभन्दा मुनिका बालबालिकालाई समेत शिशु स्याहार केन्द्रमा भर्ना गरिएको पाईन्छ । तीन बर्ष नपुग्दै बालबालिकालाई नर्सरी कक्षामा भर्ना गरेर काम कितावको भारी बोकाउनु सामान्य नै भईसकेको छ। बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म कलिला बालबालिकालाई घर बाहिर राखेर आफनो काममा व्यस्त महिलाको आफनै अधिकार र बाल अधिकार बारे सोच्ने फूर्सद कहिले होला ?

बिदुर नगरपालिकामा प्रमूख (मेयर) सञ्जु पण्डित भने महलिा अधिकार र वाल अधिकार परिपूरक भएको तर्क गर्छन्। उनको स्पष्ट भनाई छ कि वालअधिकारलाई सुनिश्चित गर्न महिला अधिकार प्रबद्र्धन हुनु पर्दछ । महिला अधिकारको पूर्ण उपभोग भयो भने मात्र वालवालिकाले गर्भ अवस्थादेखि किशोर किशोरी नहुँदासम्म उनीहरुको अधिकार सहज प्राप्त गर्न सक्दैनन् ।

वालवालिकाको संरक्षणको लागि महिलाले पाएको अधिकार, सहुलियत र प्राथामिकतालाई महिलाले आफनो भविष्य बनाउन मात्र दुरुपयोग गर्ने हो भने त्यसको अनर्थ हुन जान्छ । उनले यसैमा थपे यहाँ त महिला अधिकारको अधिक प्रयोगले धेरै शिशु पेटमा नै तथा पृथ्बीमा पदार्पण हुनासाथ विदा हुन पर्ने तितो यथार्थ छ।

बालमैत्री स्थानीय शासनले गर्भवती आमाहरुले दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको हुनु पर्दछ । स्थानीय तहका सबै भूगोलमा सत प्रतिशत यस प्रकारको सेवा लिएमा बालमैत्री स्थानीय शासनको ३९ सूचक मध्ये एक सूचक पुरा भएको मानिन्छ । यसैगरी अर्को सूचकमा गर्भवती महिलाको स्वास्थ्यसंग सम्बन्धीत छ।

जुन महिला गर्भवती भएकी हुन्छिन् उनले प्रसुतिपूर्व चार पटक र प्रसुति पश्चात नवजात शिशु सहित ३ पटक स्वास्थ्य जाँच गराउनु पर्दछ । यसैगरी गर्भवती तथा सुत्केरी आमाहरुले २२५ वटा आइरन चक्की खाएकै हुनु पर्दछ। यस प्रकारको स्वास्थ्य सुविधा सरकारले निशुल्क उपलव्ध गराउने व्यबस्था गरिएको हुन्छ।

महिलासंग सम्बन्धीत जोडिएको अर्को विषय पनि बालमैत्री शासनमा व्यबस्था गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरिए पछि सबै घर धुरीमा पीउन योग्य खानेपानीको व्यबस्था हुनै पर्छ। यस्तो खानेपानीको सहज पहुँचबाट महिलाहरुलाई नै अन्ततः सहयोग पुग्ने नगरपालिकाकी बालमैत्री सम्पर्क व्यक्ति सरला श्रेष्ठको बुझाई छ ।

बिदुर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गा प्रसाद चालिसे बालमैत्री स्थानीय शासनबाट महिला अधिकर प्रबद्र्धन भएपनि वालअधिकारलाई कुण्ठित पार्ने र कोरा महिला अधिकारलाई मात्र टेवा दिने गरी गरिने अभ्यासले समाजलाई सहयोग नगर्ने धारणा राख्छन्।

उनको निचोड छ, समाजले महिला अधिकारलाई प्रबद्र्धन गर्दा वालअधिकार पनि संगसंगै संरक्षित हुने गरी वातावरणको निर्माण गरिनु पर्दछ। बोली र शारीरिक वलबाट आफनो अधिकार लिन नसक्ने बालबालिकालाई पहिलो प्राथमिकतामा राख्ने समाज मात्र सभ्य र समृद्ध समाज बन्न्नसक्छ ।

 

साभार- बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

Related Post

Foreign Employment and Remittance in Nepal
Manufacturing Enterprises in Pokhara
सांसदलाई पेन्सनै पेन्सन्, जनतालाई टेन्सनै टेन्सन्
स्वत: बदर सुगौली सन्धि र ग्रेटर नेपाल
बलमिच्याँईमा बनाएका १८ बाँधहरु (अन्तिम भाग)