समाधिस्थल नहुँदा जटिल समस्या पैदा भएको छ

Sunday, August 13th, 2017 at 8:21 am By:News Missile Blogs 409 Views

नेपालमा रहेका नेपाली क्रिस्चियनहरु समाधिस्थल नहुंदा औधी मर्कामा परेका छन् । उनीहरुले समाधिस्थलको माग गर्दै आइरहेका छन्। नेपालमा मात्र क्रिस्चियन धर्मालम्बीहरुको संख्या ३० लाखभन्दा बढी भैसकेको छ। यकिन तथ्याङ्ग आएमा यो भन्दा बृद्धि हुने आँकलन गरिएको छ ।

यतिधेरै क्रिस्चियनहरु नेपालमा बृद्धि भैसक्दापनि उनीहरुको बेग्लै समाधिस्थल निर्माण नहुनु र सरकारले त्यसको व्यवस्था नगरिनु जस्ता कुराहरु बहसको रुपमा प्रकाशमा आएको छ । नेपालको संविधानको धारा ४ को उपधारा २६ मा धार्मिक स्वतन्त्रताको हक प्रदान गरे अनुरुप क्रिस्चियन धर्ममा आबद्ध ३० लाखभन्दा बढी क्रिस्चियनले समाधिस्थल नपाएको कारण कुनै क्रिस्चियनको मृत्यु भएमा मृतकको पार्थिव शरीर राति नदीमा फालेर आउनु पर्ने बाध्यता रहेको काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालका अध्यक्ष सिवी गहतराजले खुलासा गरेका छन्।

नेपाल धर्मनिरपेक्ष राज्य घोषणा भइसक्दा पनि आफूहरुमाथि राज्यबाट भेद्भावपूर्ण व्यवहार हुँदै आएको सो अवसरमा अध्यक्ष गहतराजले बताएका छन् । समाधिस्थलको व्यवस्थाका लागि महासङ्घले गरेको पटकपटकको सङ्घर्षपछि विसं २०६८ वैशाख १८ मा सरकारसँग तीनबुँदे सहमति गरी अस्थायी समाधिस्थलको व्यवस्था तथा स्थायी समाधिस्थलका लागि उच्चस्तरीय समिति बनाउने उल्लेख भए पनि हालसम्म सो व्यवस्था हुन नसकेको महासंघले जनाएको छ ।

त्यसपछि पनि २०६९ साल जेठ १३ मा महासंघ सरकारसँग ६ बुँदे सहमति गरेकामा हालसम्म कार्यान्वयन भएको छैन। अन्तर्राष्ट्रिय कानूनले समेत मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १८ ले प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रताको हक हुने, आफूले रोजेको धर्म ग्रहण गर्ने तथा पूजाआजा गर्न पाउने व्यवस्था गरेको छ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय अनुबन्ध, १९६६ को धारा २ मा सम्पूर्ण व्यक्तिलाई जाति, धर्म, रङ्ग, लिङ्ग, भाषा र धर्मका आधारमा कुनै प्रकारको भेद नगर्ने उल्लेख गरेको अध्यक्ष गहतराजले भनेका छन्।

अध्यक्ष गहतराजले सरकारले क्रिश्चियन समुदायलाई अपमान गर्ने, भेदभाव गर्ने तथा आफ्ना महासङ्घका सचिव सन्तोष खड्कामाथि गोली प्रहार गर्ने व्यक्तिलाई कानुनी कठघरामा ल्याउन बेवास्ता गरेको आरोप लगाएका छन्। महासङ्घका प्रवक्ता सागर बैजूले गत जेठ ७ गते क्रिश्चियनको बाँसबारीस्थित टुपेक चर्चमाथि भएको आक्रमणको निष्पक्ष छानबिन सहित पाँचबुँदे माग सरकार समक्ष पेश गरिएको जानकारी दिँदै माग पूरा नभए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

आवश्यकताले नै संघर्ष जन्माउने गर्दछ। त्यो आवश्यकता यतिखेर क्रिश्चियन धर्मावलम्वीहरुमा देखिएको छ। उनीहरुको त्यो आवश्यकतालाई नेपाल सरकारले संवोधन गर्नु आवश्यक भैसकेको छ। सवै धर्मलाई उचित सम्मान गर्नु र गराउनु तथा ती धर्मका आस्था र संस्कारलाई आँच आउने कार्य गराइनु हुंदैन्। समाधिस्थल नहुंदा राति–राति ठूला नदीमा शव फाल्ने गरिदा अझ धेरै विकराल स्थिति पैदा हुंदै आएको छ। त्यसको समाधानको लागि पनि समाधिस्थलको उचित स्थानमा व्यवस्था गरिदिनु अत्यन्त आवश्यक भैसकेको छ।

 


Related Post

Foreign Employment and Remittance in Nepal
Manufacturing Enterprises in Pokhara
सांसदलाई पेन्सनै पेन्सन्, जनतालाई टेन्सनै टेन्सन्
स्वत: बदर सुगौली सन्धि र ग्रेटर नेपाल
बलमिच्याँईमा बनाएका १८ बाँधहरु (अन्तिम भाग)